घट्न थाल्यो ब्याजदर : बढ्न थाल्यो सेयर धितो कर्जाको माग

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर महिनैपिच्छे घट्दै गएको छ । तर ब्याजदर घटे पनि कर्जा प्रवाहमा खासै सुधार हुन सकेको छैन । फलस्वरुपः बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था कायम नै रहेको छ भने अधिक तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परिरहेको अवस्था छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर २०८१ साउनमा औसत ९.६८ प्रतिशत कायम भएको छ । १ वर्षको अवधिमा बैंकहरुले दिने कर्जाको ब्याजदर २०.९१ प्रतिशत विन्दुले घटेको हो । २०८० साउनमा वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत थियो ।

समग्रमा कर्जाको औसत ब्याजदर घटेसँगै सेयर धितो कर्जाको औसत ब्याजदर पनि घटेको छ । १ वर्षको अवधिमा वाणिज्य बैंकहरुको सेयर धितो कर्जाको औसत ब्याजदर २.७९ प्रतिशत बिन्दुले घटेको हो । २०८० को साउन मसान्तमा १२.९७ प्रतिशत निर्धारण भएको सेयर धितो कर्जाको औसत ब्याजदर २०८१ को साउन मसान्तमा १०.१८ प्रतिशत कायम भएको छ । 

अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा रहेको हो । पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउदै लगेका हुन् । बैंकहरुले २०८० कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधार दर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो ।

यता, सेयर कर्जाको ब्याजदर घटेसँगै सेयर धितो कर्जा प्रवाह भने बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ साउन मसान्त वाणिज्य बैंकहरुले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । १ वर्षमा सेयर धितो कर्जा १२ अर्ब ७९ करोड रुपैयाँले बढेको हो । २०८० को साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५८ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउनुका साथै जोखिम भारित अनुपात घटाएपछि यस क्षेत्रमा लगानी बढेको देखिन्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा पनि खारेज गरेको छ ।

यसले आगामी दिनमा यस क्षेत्रको कर्जा अझै विस्तार हुने आँकलन गर्न सकिन्छ । व्यक्तिगत सीमा भने कायम नै राखेको छ । सेयर कर्जामा व्यक्तिगत सीमा १५ करोड रुपैयाँ छ । तर ब्याजदर निकै सस्तो हुँदै गएको छ । सेयर बजारमा उत्साह पनि बढेको छ । यसकारण सेयर धितो कर्जा लिनेहरु बढ्न थालेको बैंकरहरुको भनाई छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सेयर बजार बढ्दा सेयर धितो कर्जाको माग बढ्ने गरेको बताउँछन् । ‘सेयर बजार बढ्दा सेयर धितो कर्जाको माग बढ्छ’ उनले भने, ‘बजार घट्दा कर्जाको माग पनि घट्छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

New Things Will Always Update Regularly